
भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनु भएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १० वर्षदेखि यहाँ छठ मनाउन व्यवस्थापन गर्दै आइएको बताए । पर्वका लागि बिहीबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ व्रर्तालुले अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर छठी देवीको पूजा गरेर पर्व मनाएका रौनियारले उल्लेख गरे । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउँदै आएको जनाउँदै छठमा घर जान नपाउनेहरुका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताइन् ।
विशेष गरेर तराईवासीले हर्षोल्लासकासाथ मनाउने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीले सामूहिक रुपमा मिलेर मनाएको दृश्य देखिएको भन्दै उक्त दृश्यले मनलाई आनन्दित बनाएको स्थानीय कमल श्रेष्ठ बताए । समितिका संयोजक रौनियारले विभिन्न धर्म, समुदाय र जातका मानिस एकसाथ सहभागी भएर पर्व मनाएका बताए । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यसवर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएका उनले जानकारी दिए ।