काठमाडौँ — सभामुख देवराज घिमिरेले पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सोमबार पूर्वसभामुख ढुंगानाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरण पुगेका सभामुख घिमिरेले उक्त कुरा बताएका हुन् । संसद्लाई कसरी बलियो बनाउने भन्नेबारे महत्वपूर्ण योगदान दिएको बताउँदै घिमिरेले संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रुपमा ढुंगानालाई आफूले लिएको बताए । ढुंगानालाई प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने व्यक्तिका रुपमा आफूले चिनेको सभामुख घिमिरेको भनाइ थियो ।
प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने एउटा व्यक्ति हो । उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद् सञ्चालन र संसद्को भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अभिभावकको रुपमा सम्झिन्छु । उहाँ अरुलाई दुःख नहोस् भन्न चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने एउटा राम्रो उदाहरण पनि हो,' सभामुख घिमिरेले भने, 'उहाँको मूल्य, मान्यता भनेको संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रुपमा हुनुहुन्थ्यो । आकस्मिक रुपमा यो घटना सुन्दा म धेरै प्रभावित भएको छु ।’ढुंगानालाई संसद् सञ्चालन र संसद्को भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने सभामुख घिमिरेले बताए ।

