नेपालगञ्ज २ असार। बाँकेका एक हजार बढी ढुवानी व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याएर बिहीवारदेखि आन्दोलनमा उत्रिएका छन् । बाँकेका ट्रक व्यवसायीहरुले सरकारी रबैयाले आफ्नो व्यवसाय धराशायी भएको भन्दै आफ्ना ढुवानीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याएका हुन् ।
सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवसायी पलायन हुने अवस्था आएपछि बाध्य भएर गाडीहरु थन्क्याउनु परेको नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौं लगानी रहेको ट्रक व्यवसाय पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ ।
इन्धन र गाडीका पाटपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले ढुवानीका साधान चलाउन सक्ने अवस्था नरहेको बताए । सरकारले निर्धारण गरेको भाडा समेत आफूहरुले पाउन नसकेको उनको दुःखेसो छ ।
पछिल्लो पटक सरकारले तराईमा प्रति किलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रति किलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन । कम मूल्यमा आफूहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।
नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए ।ट्रक व्यवसायी चुंगी कर, सडक कर र गद्दी खर्चका नाममा पीडित हुनु परेको दुखेसो उनीहरुको छ । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।
ADVERTISEMENT