नेपालगन्ज २ असार : पछिल्लो समय नेपालगन्जमा सिर्जित सामाजिक सद्भाव बिथोल्ने घटनाक्रमप्रति बाँकेका धार्मिक, सामाजिक तथा नागरिक समाजले चासो लिएकाछन् ।नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने घटनाक्रम बृद्धि हुँदै गएपछि त्यस्ता तत्वलाई कानूनी दायरामा लिनुपर्ने भन्दै बाँकेका धार्मिक, सामाजिक तथा नागरिक समाजका अगुवाहरुले चिन्ता र चासो ब्यक्त गरेका हुन् । उनीहरुले बाँकेको सामाजिक, सद्भाव चिसिदैँ गएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएकाछन् ।बाँकेका धार्मिक, सामाजिक तथा नागरिक अगुवाहरूको उपस्थितिमा बुधबार बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र समेत बुझाइएको छ ।पछिल्ला समय सामाजिक सञ्जाल लगायतका माध्यमबाट धार्मिक आस्थामाथि कुठराघात हुनेगरि धार्मिक तथा सामाजिक सहिष्णुताविरुद्ध अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने, धार्मिक भावना भड्काउने जस्ता गतिविधि गर्नेलाई पहिचान गरि कानूनी दायरामा ल्याउन उनीहरुको माग रहेकोछ ।
उक्त ज्ञापन पत्र बुझाउन राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौद्धिष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली काँग्रेसका युवा नेता सुधांसु कोइराला लगायतको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।धार्मिक, सामाजिक तथा नागरिक समाजका अगुवाहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बाँकेबासीलाई संयमता अपनाउन आग्रह गरे ।
बाँकेको धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने गरी गरिने गतिविधि कानूनत क्षम्य हुने छैन, यस्ता कार्यमा संलग्न जो सुकैलाई कानूनी कारबाही गरिनेछ ।’ उनले अगाडी थपे–‘म सबै सम्प्रदायका अगुवाहरुलाई विशेष आग्रह गर्छु, संयमता अपनाइदिनुहोस्, यो सद्भावको शहर हो । यो हाम्रो परिचय र पहिचान हो । यहाँको शान्ति सुरक्षा र साम्प्रदायिक सद्भावमा प्रशासनसंगै जनसमुदायको साथ र सहयोग आवश्यक छ ।’यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेको धार्मिक सहिष्णुतामा खलल पु¥याउने काम नगर्न भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुतामा खलल पु¥याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दै गएपछि बाँके प्रहरीले गत सोमबार यस्तो आग्रह गरेको हो ।बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पु¥याउने जो सुकैलाई कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।
विरोध प्रर्दशनका क्रममा उनीहरुले ब्यक्तिगत रिसिभि तथा घटनाक्रम बङ्ग्याउदै कुनै एक घटनालाई लुकाउन खोजेको भन्दै नेपालगन्जको सद्भाव विथोल्न धर्मको विषयलाई जोडेर राजनीतिक रोटी सेक्ने काम भएको दावि गर्दै आपत्ती जनाएका थिए ।
हिन्दूवादीहरुले बागेश्वरी पार्कदेखि जिल्ला प्रशासन कार्यलयसम्म सामाजिक सद्भाव विथोल्न नहुने, साम्प्रदायिक घटनातर्फ उद्त घटनाक्रम निरुपण गरिनुपर्ने, धार्मिक एकता तथा स्वतन्त्रामाथि प्रहार गर्न नहुने भन्दै हिन्दू विरोधी राष्ट्र विरोधी मुर्दावाद, हिन्दू एकता जिन्दावाद जस्ता नारा लगाएका थिए ।
केहि दिन अघि भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले एक टिभी कार्यक्रमको बहसमा बोलेको भिडियोका आधारमा नेपालगन्ज निवासी राजेश कुमार जलान विद्रोहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेर धार्मिक सद्भाव बिगार्न लागेको भन्दै नेपालगन्जका मुस्लिम समुदायले त्यसको विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्नो धार्मिक आस्था र विश्वासमाथि प्रहार गरिएको भन्दै कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
त्यसलगत्तै धार्मिक तथा सामाजिक सद्भावको विषय झन् पेचिलो बन्दै गएपछि यहाँको धार्मिक, सामाजिक र शान्ति सुरक्षा जटिलमोडतर्फ उन्मुख भएको हो ।नेपालगन्ज पुर्खौदेखि सामाजिक सद्भावको नमुना सहरका रुपमा चिनिन्छ । यो एक ऐतिहासिक र सद्भावको सहर हो । नेपालगन्ज हिन्दू, मुस्लिम, शिख, ईशाई, बौद्ध धर्मलगायतका धार्मिक सम्प्रदायबीचको एकताका कारण देशमै नेपालगन्ज धार्मिक सद्भावको शहरको रुपमा परिचित छ । बेलाबखत आफ्नो स्वार्थ पूर्तीका लागि गरिने तुक्ष गतिविधिका कारण यहाँको धार्मिक तथा सामाजिक सहिष्णुता खलबलिने गरेकोछ ।
ADVERTISEMENT