काठमाडौँ — चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार रिब्स र निस्ट जित हासिल गर्दै सेमिफाइनलमा पुगेका छन् ।आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित गर्यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले ५–५ स्कोर गरे । संस्कृति पौडेलको १४ स्कोरमा निस्टले केयर इङ्लिस स्कुललाई ३२–१२ ले हरायो ।
काठमाडौं शिक्षालय र डिफेन्डिङ च्याम्पियन एनसीसीएसले सेमिफाइनल पुगिसकेका छन् । सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५–२३, एम्बासडरले भीएस निकेतनलाई ४३–२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७–१४ स्कोरले हराएर क्वाटरफाइनल पुगे । विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि वाकओभर अगाडि बढ्यो ।
जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०–९ तथा काठमाडौं इङ्लिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी एआईएलाई २२–६ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले ५ र केईएसका आयुश तिमल्सिनाले १० स्कोर जोडे ।