काठमाडौं ६ असार।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताएका छन् । महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताए ।
सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै महराले एसपीपी अहिले स्थगित भएपनि विरोध सेलाएपछि सम्झौता भित्रभित्रै गर्ने हुन कि भन्ने शंका कायमै रहेको बताए । महराले भने, “एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दैनौं भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरुले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ । तर, मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?” महराले देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने धारणा राखे ।