काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विकास गरिने सूचना प्रणाली दीर्घकालीन आवश्यकतालाई हेरेर बनाउन समितिले सुझाव दिएको छ । श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठित समितिले आगामी २० वर्षपछिसम्म हुनेगरी बनाउन सुझाएको हो ।मन्त्रालय मातहत सञ्चालित सूचना प्रणाली एकीकृत गरी सेवा प्रवाह गर्नेसम्बन्धी अध्ययन गर्न घिमिरेको संयोजकत्वमा १० सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखी सर्भिस खरिद तथा ह्युमन रिसोर्स म्यानेजमेन्ट गर्नुपर्ने सुझाव दिएको हो ।
मन्त्रालयअन्तर्गत जति निकाय छन्, ती सबैका सेवा एकीकृत गरी सर्भरमा आबद्ध गराउने हिसाबले तयार पार्नुपर्ने जनाइएको छ । मन्त्रालयअन्तर्गत रहेका एप्लिकेसन र सर्भरलाई खरिद वा निर्माण गर्दा भविष्यमा मन्त्रालयको सर्भर र नागरिक एपमा इन्टिग्रेड गर्ने हिसाबले निर्माण गर्न सबै निकायलाई पत्राचार गर्नसमेत सुझाव दिइएको छ ।
एकीकृत श्रम तथा रोजगार सूचना प्रणालीलाई अहिलेको सन्दर्भमा सुधार गर्नुपर्ने पक्ष सुधार गरी मन्त्रालयबाट स्वीकृत गरी मन्त्रालयको पोलिसी डकुमेन्टका रूपमा राख्नसमेत सुझाव दिइएको छ ।
त्यस्तै मन्त्रालय र मातहत निकायमा आवश्यक कम्प्युटर एवं सूचना प्रविधिसँग सम्बन्धित मानव स्रोत ज्यादै कम भएकाले आवश्यक जनशक्ति प्रबन्ध गर्न पनि समितिले सिफारिस गरेको छ । रेमी परियोजनाको सिस्टममा रहेको माइग्रेन्ट वर्करको रेकर्ड तथा डाटा प्रयोग गर्न सक्ने कार्यको वातावरण बनाउनसमेत सुझाइएको छ ।रोजगार सेवा केन्द्रको भविष्य विचार गरी अब बन्ने सिस्टममा रोजगार सेवा केन्द्रको भूमिका पहिचान गर्नुपर्ने समेत भनिएको छ ।रेमी परियोनाबाट तयार गरेको समग्र प्रणालीको ढाँचा निर्माण गरी टीओआर स्वीकृत गरी प्रचलित नीति नियम एवं कानुनबमोजिम हार्डवेयर र सफ्टवेयर विकास गर्न मन्त्रालयले परियोजनालाई लेखिपठाउनुपर्ने समेत जनाएको छ ।मन्त्रालयअन्तर्गत सञ्चालन भएका सबै एप्लिकेसन मन्त्रालयको वर्तमान सिस्टम र भविष्यमा सम्भावना भएका सिस्टमसँग डाटा एक्सचेन्ज हुने हिसाबले मिल्नेगरी निर्माण तथा सञ्चालन गर्न परिपत्र गर्नसमेत समितिले सुझाएको छ ।

