महिला उद्यमी संघ नेपाल, बाँकेले प्रदेश स्तरको प्रदर्शनी नेपालगन्जमा हुने
zeenepal
२०८१ फाल्गुन ५,
9
Shares
नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा हुने भएको छ । महिला उद्यमी संघ नेपाल, बाँकेले प्रदेश स्तरको प्रदर्शनी गर्न लागेको हो । प्रर्दशनीको नवौं संस्करणको तयारी तीब्र पारिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदर्शनीको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दियो ।स्थानीय बागेश्वरी मन्दिर पसिरको चिल्ड्रेन पार्कमा यही फागुन ६ देखि १० गतेसम्म सञ्चालन हुने प्रदर्शनी हुनेछ । प्रर्दशनीको नवौं संस्करणलाई थप प्रभावकारी बनाउन यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको संघकी अध्यक्ष राधा बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिइन् । प्रर्दशनीमा फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिने उनले बताइन् । उक्त कार्यक्रममा महिला उद्यमीको संभावना र चुनौतीका विषयमा सरोकारवाला र विज्ञसँग संवाद हुनेछ ।
यस्तै फागुन ८ गते युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन कार्यक्रम हुनेछ । उक्त कार्यक्रमका लागि युवा सञ्जाल सहित युवा र महिला उद्यमीको सहभागीता रहनेछ । बाँके र आसपासका कलेज र बिद्यालयका छात्र छात्राको पनि कार्यक्रममा सहभागिता रहने उनले जानकारी दिइन् । यसैगरी फागुन ९ गते सफल महिला उद्यमीको अनुभव आदान प्रदान र सम्मान कार्यक्रम गर्ने तयारी भएको अध्यक्ष बस्नेतले बताइन । नेपालगन्जको परम्परागत तथा रैथाने परिकारलाई प्रवद्र्धन गर्नका लागि स्टलहरु राखिने संघले जनाएको छ ।प्रदर्शनीलाई भब्य बनाउन विभिन्न उप-समिति गठन गरिएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् । गाउँ तथा शहरमा भएका महिलालाई आफ्नो सिप, क्षमता र स्थानीय बस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको उनको भनाई छ ।
नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, सल्यान लगायत जिल्लाबाट आएर महिलाले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने जानकारी दिइन् । प्रदर्शनीले महिलाले उत्पादन गरेका बस्तु तथा उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि अवसर सिर्जना गर्ने उनको विश्वास छ । प्रदर्शनीमा करिव ६० वटा स्टलमा एक सय ५० भन्दा बढी उद्यमीले आफ्नो उत्पादनको बिक्री तथा प्रचार–प्रसार गर्ने छन् ।प्रदर्शनीमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, मह, हातले बनाइएका जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डालगायत बस्तु रहनेछन् । प्रर्दशनी पाँच दिनसम्म चल्नेछ, भने करिव २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रर्दशनीमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय प्रवद्र्धक रहेको छ ।