दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई फेरि ३ दिन म्याद थप
zeenepal
२०८१ चैत्र १३,
9
Shares
सिरहा —सिरहाको औरहीमा महायज्ञका नाममा अछुत भन्दै दलित परिवारमाथि ज्यादती गरिएको घटनामा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई ३ दिन म्याद थप भएको छ । सिरहा जिल्ला अदालतले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न दोस्रोपटक ३ दिनको म्याद दिएको हो ।गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई अदालतमा पेस गरेर प्रहरीले अनुसन्धानका लागि थप म्याद मागेकोमा ३ दिनको म्याद दिइएको अदालतका श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए । उनीहरू गत ८ गते साँझ पक्राउ परेका थिए ।
अदालतले गत आइतबार पहिलोपटक उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको थियो । औरही गाउँपालिका-५ मा महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दलित समुदायका दीपक मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।यस घटनामा पीडित दीपक मल्लिकले गत ९ गते जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् ।
जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।जातीय छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । यस घटनामा बजरंजी बाबा भने अझै फरार छन् ।