बागमती । संघीय निजामती कर्मचारी ऐन जारी गर्न माग गर्दै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाइएको छ । संयुक्त ट्रेड युनियन सञ्जालले सोमबार निमित्त प्रमुख सचिव उदय राना मगर र सचिव रितेश शाक्यलाई तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज कुमार पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै संजालमा आवद्ध कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ११ बुँदामा आफ्ना मागहरु समेटेर सभामुख घिमिरेलार्य ज्ञापन पत्र पठाएका हुन् ।
संघीय राज्य व्यवस्था कार्यान्वयनको एक दशक अवधिमा संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवम् मार्गदर्शन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा सार्वजनिक प्रशासन अन्योल र अस्थिर बनेको उनीहरुको भनाई छ । सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यम निजामती सेवा व्यवस्थापन सरकारको प्राथमिकतामा नपर्नु गम्भिर चिन्ताको विषय बनेको नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य दीपकराज मिश्रले बताए ।मन्त्रिपरिषद्बाट २०८० भदौमा निर्णय गरी फागुनमा संसदमा पेश भएको निजामती कर्मचारी विधेयक २०८१ भदौमा छलफल हुनु र ढिलो गरि छलफल प्रारम्भ भएको उक्त विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उप–समितिले संयुक्त ट्रेड युनियनबाट उठान गरिएका विषय समावेश नगरि समितिमा प्रतिवेदन पेश गरेको उनले बताए । उक्त विषयमा आफूहरुको माग र मुद्धालाई उप–समितिले बेवास्ता गरेको संयुक्त ट्रेड युनियन सञ्जालको ठहर रहेको उनको भनाई छ ।

