काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दिगो विकास लक्ष्य कार्यान्वय गर्न असल अभ्याससँगै सुशासनलाई ध्यान दिनुपर्ने बताएका छन् ।राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको मंगलबार बसेको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।उपसमितिले सिंहदरबारमा ‘दिगो विकास लक्ष्य कार्यान्वयनमा नेपालले अवलम्बन गरेका असल अभ्यासहरू बारे’ छलफल राखेको थियो । त्यसलाई सम्बोधन गर्दै मूल समितिका सभापति कमलादेवी पन्तले दिगो विकास लक्ष्य कार्यान्वयनमा मुख्य गरेर उत्पादन, उत्पादकत्व र रोजगारीका कुरामा ध्यान दिनुपर्ने बताइन् ।
कार्यान्वयनको पाटो कमजोर भयो भने लक्ष्य प्राप्त गर्न नसकिने भन्दै उनले सुशासनमा पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।उपसमितिका संयोजक डा. अन्जान शाक्यले राष्ट्रिय योजना आयोगले योजना बनाउँदा दिगो विकासका सबै लक्ष्यहरूमा क्रमवद्ध रूपमा स्थानीय तह, प्रदेश र केन्द्रबाट असल अभ्यास के–के भइरहेका छन् भन्ने कुरालाई आधार मानेर बनाउनुपर्नेमा जोड दिए ।
आगामी दिनमा योजना बनाउँदा युवाहरूलाई रोजगारीसँग जोड्ने, उनीहरूलाई उद्यमशील बनाउने, खोज–अनुसन्धानमा प्रयत्नशील बनाउने र उनीहरूको सीप विकास गराउनेमा ध्यान दिन आवश्यक छ,’ उनले भनिन् ।समितिका सदस्य वामदेव गौतमले योजना आयोगले दिगो विकास लक्ष्यका लागि सबै योजनाहरू बनाइसकेको रहेछ भन्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।