मकवानपुर — हेटौंडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको आज (बिहीबार) फाइनल खेल हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षक उपाधि जित्नेमा ढुक्क देखिएका छन् ।हेटौंडा-६ स्थित गौरीटार रंगशालामा दिउँसो ४ बजेबाट फाइनल खेल सुरु हुनेछ । फाइनल खेल अगाडि एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधि जित्ने दाबी गरेका छन् । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले आट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए ।
एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफूहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधि जित्ने गरी खेल्ने दाबी गरिन् । पुलिसका प्रशिक्षक भोला सिलकारले एपीएफ तुलनात्मक रुपमा आफूहरुभन्दा बलियो टिम भए पनि प्रतिस्पर्धामा उत्रने बताए ।
एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफ बलियो भए पनि आफूहरुले जित्ने गरी खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए । यो पटक एपीएफलाई रोक्ने आफूहरुको रणनीति रहेको पनि उनले बताए ।पुलिसकी कप्तान निरुता थापाले यो उपाधि जित्ने गरी आफूहरु मैदानमा उत्रने बताइन् । प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै एपीएफ वीरगंजलाई १२-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछन् भने अन्य विधागत उत्कृष्टले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।यो सिजनमा एपीएफ र पुलिसबीच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधि एपीएफले जितेको छ । केही दिन अघि नुवाकोट, लिग, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको प्रतियोगिताको फाइनलमा दुई टोलीबीच प्रतिस्पर्धा भएकोमा एपीएफले सबै खेल जितेको छ ।

