बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको अभिमुखीकरण
zeenepal
२०८२ बैशाख २५,
3
Shares
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागुऔषध विरुद्धको सचेतनामूलक अभियान सुरु गरिएको छ । लागुऔषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि. नेपालगञ्जले पालिकाको आठ वटै वडामा लागुऔषध विरुद्धको सचेतनामूलक अभियान सञ्चालन गरेको हो । बुधबारदेखि सुरु भएको कार्यक्रम पालिकाको वडा नम्बर ५ मा सञ्चालन गरिएको थियो ।
कार्यक्रमका सहभागीले लागुऔषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भूमिका महत्वपूर्ण भएकोमा जोड दिएका थिए । सहभागीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्नेमा जोड दिँदै यसबारे सचेत भई आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष देव बहादुर रावतले बैजनाथमा लागुऔषधको प्रयोग बढ्दै गएकाले यसको नियन्त्रणका लागि पालिकाले नीतिगत रुपमा रणनीतिक योजना तयार गरी अघि बढ्ने बताए । वडा सदस्य दिप बहादुर थापाले लागुऔषध जस्ता कुलतमा फस्ने युवाहरुलाई सचेत बनाउन सबै सरोकारवाला निकायको भूमिकामा जोड दिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जालका केन्द्रीय उपाध्यक्ष प्रेमपुर्णा योगी, जयसिंह केसी लगायतले बोलेका थिए ।कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरी करीब ६० जनाको सहभागिता रहेको थियो । संस्थाले बुधबार बैजनाथको ६ नम्बर वडामा अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ ।