काठमाडौं १० असार। गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।यो वर्ष हजका लागि नेपाललाई छुट्ट्याइएको ५५५ जनाकाे काेटामध्ये शुक्रबार बिहान अन्तिम टाेली हज गर्नका लागि त्यसतर्फ गएकाे हाे । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका छन् ।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितकाे उपस्थिति थियाे ।
असार ६ गतेदेखि एयर अरेबियाकाे हवाइजहाजबाट दैनिक एक टाेली हज गर्न गइरहेकाे थियाे । साउदीको जेब्दास्थित महावाणिज्यदूतावासबाट १० जनाकाे स्वयंसेवककाे टाेली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ । टाेलीमा ८ जना डेलिकेट्स र ३ जना मेडिकल सपाेर्ट टिम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टाेली ३४ दिनपछि नेपाल फर्कने छ ।मुस्लिम समुदायको पवित्र तीर्थस्थानको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।
ADVERTISEMENT