काठमाडौं १२ असार। राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीबाट प्राप्त ढुंगा, गिटी/बालुवालगायत वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार मेयर यादव, तत्कालीन उपमेयर कान्तीदेवी र प्रमुख प्रशासकीय अधिकृतसहित २१ विरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।
जिल्ला समन्वय समिति रौतहटको रोहवरमा बसेको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाँडफाँट गर्ने गरी सहमति भएको थियो ।तर, फतुवा विजयपुर नगरपालिकाले आब २०७५/०७६ को लाल बकैया नदीको ठेक्का कानुनविपरीत मिलेमतोमा नदीजन्य वस्तु बिक्री गर्न ठेकेदारलाई जिम्मा लगाएका थिए ।

