तीन ठाउँमा अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा
zeenepal
२०८२ असार ८,
12
Shares
काभ्रेपलाञ्चोक । उत्तरी नाका प्रवेश गर्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तीन ठाउँमा अवरुद्ध भएको सडक पूर्ण रुपमा खुलेको छ ।भोटेकाशी गाउँपालिका २ कोदारीमा गत असार १ गते देखि तथा भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङ र वडा नं ३ लार्चामा असार ३ गतेदेखि राजमार्ग अवरुद्ध थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, भोटेकाशी गाउँपालिका २ कोदारीमा र कोप्लाङमा भासिएको सडक मर्मत गरिएको जानकारी दिए ।त्यस्तै, लार्चामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएपछि बाह्रबिसे–कोदारी खण्ड सुचारु भएको हो ।
सडक भासिएको छ भने लर्चामा ह्युमपाइप बगाएको छ । कोप्लाङमा राजमार्गको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल भासिएको थियो भने लर्चामा अस्थायी संचालनको लागि राखिएको ह्युमपाइप बगाएको थियो ।राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर हिँडेका दर्जनौं कन्टेनर लिपिङमा रोकिएका थिए । नाका चलेसँगै रोकिएका कन्टेनर लार्चास्थित भन्सार आइपुगेका छन् ।मर्मतसम्भार गरेर पूर्ण रुपमा सडक खुला गरिएको चरिकोट सडक डिभिजनका कार्यालयका सुचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए । यही वर्षमै दोस्रोपटक नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।
लार्चामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा
चीनसँगको उत्तरी सीमा तातोपानी नाका जोड्ने लार्चामा नयाँ बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।गत वर्षको असोजमा आएको बाढीले लार्चा पुल बगाएपछि ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएकोमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । चरिकोट सडक डिभिजन कार्यालयका अनुसार एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो पुल निर्माण भएको छ । सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले प्राप्त ठेक्का समय डेढ महिनाभित्रै निर्माण सम्पन्न भएको थियो ।
चीनसँग जोडिएको राजमार्ग र भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ को एकमात्र मार्ग पहिरोले क्षतिग्रस्त भएछि बेलिब्रिज निर्माण भएको हो । पुरानो बेलिब्रिज बगाएपछि भोटेकोशी नदीमा ह्युमपाइप राखेर मालबाहक कन्टेनर र अन्य यातयातका साधान सञ्चालन गरिँदै आएको थियो । केही दिनअघि भोटेकोशी नदीको बाहव बढेसँगै उक्त ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि करिब पाँच दिन कन्टेनर र अन्य यातयातका साधान पूर्ण रुपमा बन्द भएको थियो । बेलिब्रिजमा २९ टनको सवारी पास गरेर परीक्षण गरिएको थियो । बेलिब्रिजमा २८ टन सम्मको गाडी संचालन गर्न सकिने परीक्षण पश्चात जानकारी दिइएको छ ।