
सांसदले मुलुकको समग्र विषयमा आफ्नो भूमिका खोज्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । 'संसद्लाई थप प्रभावकारी बनाउन सांसदको भूमिका के हुन्छ ? हामीले जनतासँग गरेका वाचा नेपालको वर्तमान राजनीतिक परिस्थिति, देशको सिंगो अर्थतन्त्रलाई कसरी अगाडि बढाउने र नेपाली जनताको जिविकाको सवालमा हामी कति गम्भीर र संवेदनशील छौँ भन्ने सवाल जोडेर आफ्नो भूमिका खोज्यौँ भने ठिक निष्कर्षमा पुगिन्छ,' उनले भने, 'होइन भने जनताको बीचमा गएर भाषण गर्ने, आफ्नो क्षेत्रमा दुई-चार करोड बजेट लैजानेमा नै हाम्रो भूमिका सिमित रह्यो भने वास्तविक सांसदको भूमिकामा असफल हुनेछौँ ।’
अध्यक्ष दाहालले सांसदहरू नीतिगत बहस र कानुन कार्यान्वयनमा सक्रिय भएर लाग्नुपर्ने बताए । उनले थपे, ‘संसद्मा सांसदले उठाएका जनताका समस्यालाई समयमै सम्बोधन गर्ने र संसद्प्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक छ । सांसदले संसद्मा समस्या उठाएपछि सम्बन्धित मन्त्रीले उत्तर दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिने विषय विगतदेखि नै समस्या बनेको हामी सबैले महसुस गरेका छौँ । यसमा सबैको ध्यान जान जरुरी छ,उनले भने ।अध्यक्ष दाहालले संसद्प्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबैले गम्भीर हुन जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।