काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेको भन्दै यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।चलचित्रको माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयहरूलाई सशक्त रुपमा अभिव्यक्त गरिने राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले भने ‘पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जानु जरुरी रहेको पौडेलले स्पष्ट पारे ।
नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो’ राष्ट्रपति पौडेलले भने ।मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहने राष्ट्रपति पौडेलको भनाइ छ । संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको उनले बताए । सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरुपमा विकास र विस्तार हुनु खुसीको विषय भएको राष्ट्रपतिले बताए ।राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरेका थिए । ११ जनालाई विशेष योगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।
ADVERTISEMENT

