नेपालगन्ज । कपिलवस्तुलाई केन्द्र बनाएर डेरी उद्योग संचालन गर्दै आएको ग्लोबल डेरी उद्योगले नेपालगन्जमा आफ्नो उत्पादनको सेवा विस्तार गर्ने भएको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाट नेपालगन्जका डेरी प्रोडक्टका उपभोक्तालाई लक्षित गर्दै बिक्री कक्ष संचालन गर्ने भएको हो ।बुटवल, काठमाडौं, पोखरा, चितवन लगायको सहरमा बिक्रीकक्ष संचालन गरिसकेको डेरीले पश्चिम नेपालको मुख्य सहर नेपालगन्जमा सेवा विस्तार गर्ने भएको हो । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै ग्लोवल डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेले भोलिबाट नेपालगन्जमा पनि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दूग्ध जन्य पदार्थहरूको बिक्री एवं वितरण गर्ने कार्य प्रारम्भ हुने जानकारी दिए ।
आफ्नो कम्पनीले कृषकद्वारा उत्पादित दुग्धको सहज बजार पहुँचको लागि विभिन्न चिस्यान केन्द्रहरू, सङ्कलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको बताए । उनले देशमा दिनप्रतिदिन जनसंख्या कट्दो अवस्थामा रहेको उल्लेख गर्दै उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य तय गरिएको बताए । हाल जापान र अमेरिकाका केही शहरमा छुर्पी जस्ता दूग्ध उत्पादन पठाउने गरिएको उनले जनाए ।२०५२ सालदेखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपाने समेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तु मा दुग्ध संकलन केन्द्रको स्थापना भएको थियो । २०७२ सालमा बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूम्मि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य गर्दै आएको छ ।
कम्पनीले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी कम्पनीले दैनिक ४० देखि ५० हजार लिटर दूग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आएको जनाएको छ । वार्षिक करिब १.५ अर्ब रुपैया बजारको पैसा सङ्कलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।कम्पनीले कृषकहरुसँगै निजी दूग्ध सङ्कलन, चिस्यान केन्द्र एवं दुग्ध उत्पादक सहकारी संस्था मार्फत सङ्कलन भइरहेको दुग्ध समेत खरिद गर्दै आइरहेको उनले बताए । उनले कृषकद्वारा उत्पादित दुग्धको ३६५ दिन नै खरिद गर्ने ग्यारेन्टी सहित समयमा दुग्धको भुक्तानी भइरहेको दाबी गरे ।
उनका अनुसार डेरीले कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको व्यवस्था, पशु विमामा सहयोग भ्याक्सिनेसनमा सहयोग एवं सामान्य खालको औषधि उपचारमा समेत सहयोग गर्दै आइरहेको छ । कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य गर्दै आइरहेको छ भने अन्य ३० वटा शाखा दूध संकलन केन्द्रहरू समेत सञ्चालन गरी दूग्ध खरिद कार्य गर्दै आइरहेको छ । जसमा प्रत्यक्ष रुपमा करिब ८ हजार कृषक परिवार बाट उत्पादित दुग्ध संकलन भइरहेको ग्लोबल डेरीले जनाएको छ ।
ADVERTISEMENT

