काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालमा नीतिगत र संस्थागत सुधारमा जोड दिएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित एक वर्षे कार्यकालको प्रगतिको जानकारी दिने कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यो अवधिमा उल्लेखनीय सुधारात्मक कार्यसम्पादन गर्दै देशको वन तथा वातावरण क्षेत्रको सन्तुलित विकास र उपयोगको दायित्व पूरा गर्न सफल भएको दाबी गरेका हुन् ।यो अवधिमा हरित अर्थतन्त्र विकासको दिशा अवलम्बन गर्दै वन तथा वातावरण संरक्षण, हिमाल, हिमताल र हिमनदी संरक्षण, जैविक विविधता प्रवर्द्धन, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि नीतिगत सुधारका कामहरु भएका छन्,’ उनले भने, ‘मन्त्रालयको कार्य प्रक्रियामा सहजीकरण तथा निर्णय प्रक्रियामा चुस्तता ल्याउन नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण प्रशासनलाई सेवाग्राहीमैत्री बनाइएको छ ।’
एक वर्षमा मुख्यगरी नीतिगत सुधार, राष्ट्रिय दस्तावेजको निर्माण, सेवा प्रवाह तथा सुशासन, वन क्षेत्र तथा उत्पादनमा वृद्धि, जलवायु परिवर्तन र नेपालको उपस्थिति, विकास आयोजनाका लागि सहजीकरण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सन्दर्भलगायत ११ विषयमा उल्लेखनीय काम भएको वनमन्त्री ठकुरीले बताए । राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना, बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्ययोजना, राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, राष्ट्रिय रेडप्लस रणनीति जस्ता योजना आफ्नो एक वर्षे कार्यकालमा ल्याएको उनले बताए ।वन क्षेत्रको दिगो व्यवस्थापन भई काठ दाउराको उत्पादन वृद्धि र आयात प्रतिस्थापन तथा काठजन्य सामग्री प्रयोग गर्ने उद्योगलाई कच्चा पदार्थको उपलब्धतामा सहज वनाउन आवश्यक रहेको दिगो वन व्यवस्थापन मापदण्ड २०८१ जारी गरिएको उनले जानकारी दिए ।
यस्तै, भू–उपयोग क्षेत्र एउटै नक्सामा हेर्न पाइनेगरी नेपालको राष्ट्रिय भू–क्षेत्र नक्सांकन र प्रकाशन भएको उनले आफ्नो उपलब्धीमा समावेश गरेका छन् । नेपालमा पाइने वनस्पतिको विवरण एउटै पुस्तकमा अध्ययन गर्न पाइने गरी नेपाल फ्लोरा प्रकाशन भएको उनले बताए ।जंगली रातो बाँदर र जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको पनि उनले बताए । टुहुरा तथा समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरी राख्ने व्यवस्था गरिएको उनले उल्लेख गरे । झापा लगायत देशका विभिन्न भागमा देखापरेको हात्तीको समस्या समाधानका लागि रेपिड रेस्पोन्स टिमको परिचालनको व्यवस्था गरिएको मन्त्री ठकुरीले जनाए । वन क्षेत्र र आवादीको सिमानामा सोलार फेन्सिङ्ग र हात्तीको सहज आवतजावतका लागि कोरिडोर निर्माण र व्यवस्थापनको कार्यक्रमलाई आफ्नो उपलब्धिमा राखेका छन् ।

