नेपालगन्ज । नेपालगञ्जमा चोरहरूको बिगबिगी, सरकारी कार्यालयहरू समेत असुरक्षित बाँकेको जिल्ला मुख्यालय नेपालगञ्जमा चोरीका घटना दिनानुदिन बढ्दै गइरहेका छन्। सर्वसाधारणको घर–पसल मात्र होइन, अब सरकारी कार्यालयहरू समेत चोरीको मुख्य निशानामा पर्न थालेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । चोक–चोकमा सक्रिय चोरहरूको सञ्जाल नेपालगञ्जका बिभिन्न टोल,चोक, बजार र बस्तीहरूमा रातको समयमा चोरहरूको सक्रियता अत्यधिक देखिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार,केही महिना यता रातिको समयमा चोरहरू समूहमा आएर चोरी गर्ने, पसलको सटर फोड्ने, पार्किङ गरिएका मोटरसाइकल र साइकल चोरी गर्ने घटनाहरू दिनहुँजसो भइरहेका छन् । नेपाल टेलिकम उप–प्रादेशिक कार्यालय नेपालगन्जका सूचना अधिकारी मुक्ति ज्ञवालीले कार्यालयको परिसरभित्र राखिएको करिब ४३ लाख मूल्यको केवल चोरी भएको जानकारी दिए ।
सूचना अधिकारी ज्ञवालीले भने, “टेलिकमले नयाँ केवल जडान गरेको स्थानबाट ल्याएर राखिएका पुराना केबल तार चोरी भएको छ, कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित जानकारी गराइएको छ । केवलभित्र रहेको तामाको तार चोरी भएको टेलिकमले जनाएको छ । शनिबार प्रहरीले पक्राउ गरेका व्यक्ति कोहलपुरका अमिर खान भएको टेलिकमले जनाएको छ । खानसहित केही व्यक्तिहरू शरीरमा चिप्लो पदार्थ घसेर आएको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले जनाएका छन् । वडा नम्बर ५ निवासी व्यापारी रमेश चौधरी भन्छन हामी बिहान पसल खोल्दा के चोरी भयो भन्ने डरले खोल्छौँ । सुरक्षाको कुनै भर छैन । प्रहरी गस्ती पनि देखिँदैन । सरकारी कार्यालय पनि निशानामा केही साताअघि नेपालगञ्जस्थित एक सरकारी कार्यालयमा राती चोरी भएको घटना बाहिरिएको थियो । कार्यालयको झ्याल फोडेर भित्र पसेका चोरहरूले कम्प्युटर, कागजात र केही नगद समेत चोरी गरेका थिए । यस्तै, मालपोत कार्यालय परिसरबाट दुई वटा मोटरसाइकल चोरी भएको पुष्टि प्रहरी स्रोतले गरेको छ ।
यी क्षेत्रका बासिन्दा रातभर सुत्न सक्दैनन् । चोरको विगविगी बढेपछि आफू र आफ्नो टोलबासीको धनसम्पत्ति जोगाउन रातभर पहरा दिन्छन् । यी ठाउँका सर्वसाधारणको धन र जनको सुरक्षा गर्न नगर भवनमा प्रहरी युनिट राखिएको छ । उक्त प्रहरी युनिटमा आधा दर्जन प्रहरी कार्यरत छन् । सर्वसाधारण रातभर सुत्न नसक्दा यो युनिटका प्रहरी भने रातभर मजाले सुत्छन् । दिउँसोको समयमा त्रिभुवन चोक, एकलैनी, सदरलाइन, रानीतलाउ क्षेत्रमा ड्यूटी गर्ने त्यस युनिटका प्रहरी बेलुकी ८ बजेपछि बाहिर निस्कदैनन् । ‘सर्वसाधारण रातभर नसकेको बेला दिउँसोको समयमा देखिने प्रहरी रातको समयमा कार्यालयबाट बाहिर निस्कदैनन्,’ नेपालगन्ज उपमहानगरपालिका—३ का वडा अध्यक्ष मोहम्मद अय्यूब सिद्धिकीले भने, ‘सर्वसाधारणलाई आवश्यकता पर्नेबेला प्रहरीले अनुहार देखाउँदैन । दिउँसो ड्यूटी गर्ने प्रहरी रातको समयमा कता लुक्छन् पत्तो हुँदैन ।’सर्वसाधारणलाई आपत परेको बेला नगर भवन प्रहरी युनिटका इन्चार्ज असई सुनिल शाही टिकटक र फेसबुकमा भिडियो अपलोड गर्नमा ब्यस्त भएको उनको प्रोफाइलबाट प्रष्ट हुन्छ । उनले टिकटक र फेसबुकमा दैनिक तीन–चार वटा भिडियो अपलोड गर्दै आएका छन् ।
उनी फेसबुक र टिकटकमा ब्यस्त मात्र हुँदैनन्, सर्वसाधारणसँग प्रस्तुत हुने शैली पनि उनको भिन्दै छ । राजसी शैलीमा ड्यूटीमा खटिने उनी दिउँसोको समयमा सिंह जस्तै गर्जिन्छन् । ‘दिउँसोको समयमा सिंह जस्तै गर्जिने असई शाही रात पर्ने वित्तिकै दुलोमा लुक्छन् । टोलका सर्वसाधारणलाई के समस्या छ भन्ने समेत बुझ्दैनन्,’ नेपालगन्ज उपमहानगरपालिका—३ का राकेश कनौजियाले भने, ‘रातको समयमा प्रहरीले गस्ती नगर्दा चोरको विगविगी बढेको छ । हामी रातभर सुत्न नपाउँदा प्रहरी भने मजाले सुत्नु दुखद हो ।बाँके प्रहरी कार्यालयका का अनुसार चोरीका घटनाहरू नियन्त्रण गर्न प्रहरीले विशेष गस्ती टोली परिचालन गरेको छ । सीमावर्ती क्षेत्रहरूबाट आउने अपराधिक समूहहरूलाई निगरानीमा राखिएको छ । केही स्थानमा सादा पोशाकका प्रहरी पनि खटाइएका छन् । तर स्थानीय बासिन्दा भने प्रहरीको सक्रियता पर्याप्त नभएको बताउँछन् ।
ADVERTISEMENT

