नेपालगन्ज: नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरी भारत छिर्न खोजेको अभियोगमा पक्राउ परेका दुई विदेशी नागरिक बि.एन अस्पताल नेपालगन्जले आयोजना गरेको कान अप्रेशन शिविरमा आएका कान प्राविधिक विभिन्न यन्त्र प्रयोग गरेर कानले कति आवाज सुन्छ भनेर जाँच गर्ने प्राविधिक रहेको पुष्टि भएको छ । ब्रिनोज युके ब्रिटेन नेपाल अटोलोजी सर्भिस युकेको सहकार्यमा बि.एन कम्युनिटी ईयर केयर सर्भिसद्धारा नेपालगन्जमा बि.एन अस्पताल सञ्चालित छ । अस्पतालले कार्तिक २२ गतेदेखि युकेका ब्रिटिस डाक्टरहरुद्धारा पनि अप्रेशन गरिने जानकारी सहित शिविरमा सहभागि हुन बिरामीहरुलाई सार्वजनिक आव्हान गरेको थियो । उक्त शिविरमा ब्रिटेनबाटै ईयर सर्जन डा.म्याकलम पावल हिल्टनको नेतृत्वमा व्यवस्थापक रोविन योङ्ग्स, कान प्राविधिकद्धय ६१ वर्षीया सुमित्रा शकील ओलिसिया र ३५ वर्षीय हस्सन अम्मान सलीम एक हप्ता अघि नेपालगन्ज आएका थिए । ती मध्ये कान प्राविधिकद्धय सुमित्रा र हस्सनलाई शनिवार नेपालगन्जको जमुनाह नाका पार गरेर रुपैडिया प्रवेश गरेलगत्तै भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । उनीहरु घुमघामका लागि त्यहाँ पुगेको भनिएपनि ठोस कारण भने खुलेको छैन । कानको अप्रेशन शिविरका लागि आएका उनीहरु टेक्निकलपर्सन भएपनि नेपाल स्वास्थ्य व्यवसायी परिसद् काउन्सिलबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर उनीहरुले त्यो अनुमति लिए नलिएको खुलेको छैन ।
तर ईयर सर्जन डा.हिल्टनले भने नेपाल मेडिकल काउन्सिलबाट शिविरका लागि अनुमति लिएको काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीले जानकारी दिए । ‘शिविरका लागि हिल्टनले एक सातादेखि नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनुभएको छ डा.खत्रीले भने–‘अरुको छैन ।’ नेपालमा आयोजना गरिने शिविरमा बिरामीको स्वास्थ्य चेकजाँच तथा उपचारका लागि आउने विदेशी चिकित्सकले नेपाल मेडिकल काउन्सिलबाट, स्वास्थ्यकर्मी तथा टेक्निकलपर्सनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिसद् तथा नर्सिङ स्टाफहरुले नेपाल नर्सिङ काउन्सिलबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।
तर पक्राउ परेका उनीहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्वीकृति नलिएको परिषदका रजिष्टार लिलानाथ भण्डारीले पुष्टि गरे । उनले भने–‘ प्रत्यक्ष रुपमा यस्ता शिविरमा सहभागी हुने विदेशी प्राविधिक नागरिकले परिषदबाट अनुमति लिएकै हुनुपर्छ, स्वीकृति बिना सहभागि हुन पाउँदैनन् ।’ शिविर आयोजना गर्ने संस्थाले स्वास्थ्य मन्त्रालयमा निवेदन दिनुपर्छ । उक्त मन्त्रालयको समन्वय शाखाले काउन्सिललाई पत्रचार गरेपछि त्यसैका आधारमा काउन्सिलले अनुमति दिने गरेको छ । तर बि.एन अस्पतालले अनुमतिको कुनै पत्र नपठाएको रजिष्टार भण्डारीले बताए । बि.एन अस्पतालका सञ्चालक मध्यका बिमल बुढाथोकी भने पक्राउ परेका उनीहरु टेक्निकल पर्सनमात्रै भएकाले स्वीकृति लिन नपर्ने दावी गर्छन् ।
पक्राउ परेका हस्सन पाकिस्तानी मूल भएको भारतीय सुरक्षा बलले जनाएको छ । त्यही भएर पनि भारतीय सुरक्षा बलले उनीहरुमाथि बढी निगरानी बढाएको हो । बहराइच कारागारमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । एक हप्तासम्म नेपालगन्जमा विदेशी नागरिकहरु वस्दै आएपनि स्थानीय सुरक्षा अधिकारीहरु भने वेखवर देखिएका छन् । आयोजकले समेत जानकारी नदिएको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार शिविर सञ्चालनका लागि बि.एन अस्पतालले गएको कार्तिक १२ गते नगरपालिकामा निवेदन दिएको थियो । उपमहानगरपालिकाले भने त्यसको दुई दिनपछि १४ गते शिविर सञ्चालनको अनुमति दिएको थियो । उक्त शिविरमा ई.एन.टी सर्जन डा.साना मेराजको नेतृत्वमा वरिष्ठ सिनियर कान सहायक रामबहादुर बोहरा, सिनियर कान सहायक यमुना बुढाथोकी र कान सहायक सुशिला बुढाले बिरामीलाई सेवा दिने गरी अस्पतालले अनुमति पाएको थियो । 
