नेपालगन्ज, मंसिर । नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक सडक, नाली र खुला स्थानमा भएको अतिक्रमण हटाउने अभियानलाई थप कडाइका साथ अघि बढाएको छ । पटक–पटक सूचना र आग्रह गरे पनि केही व्यवसायी तथा व्यक्तिहरूले अतिक्रमण हटाउन असहयोग गरेपछि डोजर परिचालन गरेर बाध्यतावश कारबाही गर्नुपरेको उपमहानगरका प्रमुख प्रशान्त बिष्टले बताएका छन् । प्रमुख बिष्टको भनाइमा, “भनेको मान्नुभएन । त्यसपछि डोजर लगाउँदै हिँड्नुपरेको छ ।
उनका अनुसार उपमहानगरले नागरिक सहजीकरणलाई प्राथमिकता दिँदै सुरुमा सूचना, प्रत्यक्ष संवाद र स्वेच्छिक रूपमा हटाउने समयसमेत दिएको थियो । तर केहीले नटेकेपछि बलपूर्वक कारबाही गर्नुपरेको हो । सडक तथा नाली सफाइबाट यातायात सहज अतिक्रमण हटाएपछि प्रमुख सडकहरूमा यातायात आवागमन सहज बनेको उपमहानगरको दाबी छ। सडक किनारामा अवैध रूपमा फैलिएका पसल, टहरा, सामग्री थुपारिएका स्थान तथा नाली छोपेर बनाइएका संरचना हटाइँदा सडक चौडा र नाली प्रवाह सुधारिएको अधिकारीहरूले बताएका छन् ।
उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो ।नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए ।उनले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढवर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताए ।
रु ४९ लाख ५० हजारमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ । उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो ।

