विर्तामोड, मंसिर नेपालमा पहिचान, स्वशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपाल बीच पार्टी एकता भएको छ। चारै पक्षबीच गहन छलफलपछि जारी गरिएको सम्झौता पत्र राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले वाचन गर्दै भन्नुभयो - देशको केन्द्रीकृत, एकात्मक र जातीय पक्षपाती राज्य संरचनालाई रूपान्तरण गरी वहुलराष्ट्रिय लोकतान्त्रिक राज्य निर्माण गर्ने संयुक्त लक्ष्य रहेको छ। सम्झौतामा स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई एकीकृत पार्टीको मूल विचारधाराका रूपमा स्वीकार गरिएको छ।
एकीकृत पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल, र यसै पार्टीको विधान कायम राखिने उल्लेख छ। चारै पक्षले लिम्बुवान, कोचिला, मधेस, खम्बुवान, तामाङसालिङ, नेवा, मगरात, थरुहटलगायत पहिचान आधारित स्वायत्त र विशेष राज्यहरूको स्थापना तत्कालीन एजेन्डा हुने स्पष्ट गरेका छन्। साथै राज्यका सबै तहमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरिएको छ। सम्झौतामा विगतका आन्दोलन पहिचान - अधिकार आन्दोलनसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने सहमति पनि समावेश छ। भ्रष्टाचार, औपनिवेशिक मानसिकता र राज्य संरचनामा रहेको अन्याय अन्त्यका लागि कडा अभियान सञ्चालन गर्ने, जेन-जी पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्ने र यसको निम्ति संविधान २०७२ पुनर्लेखन गर्नुपर्ने उल्लेख छ।
एकीकृत पार्टीको नेतृत्वमा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण राजबंसी र मित्र लिङदेन रहने सहमति भएको छ। चारै पक्षले पहिचान, सभ्यता-संस्कृति संरक्षण, स्वशासन र समानताको पक्षमा उभिएका सबै शक्तिलाई वैकल्पिक राजनीतिक ध्रुवीकरणमा सहभागी हुन आह्वान गरेका छन्। सहमति घोषणाको निम्ति भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतो राष्ट्रिय मुक्ती क्रान्तिको निम्ति अगामी निर्वाचनलाई उपयोग गर्ने वताए। 
