काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनमा होमिएको दाबी गरेका छन् ।ठूला राजनीतिक दलहरूले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले सो दाबी गरेका हुन् ।आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामहरूबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताए ।उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे । सञ्चारमन्त्री खरेलले सरकार जेनजी आन्दोलनको मर्मअनुसार काम गरिरहेको बताए उनले भने, ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ ।
सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ । र आगामी २१ फागुनमा चुनाव हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कामहरू अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरू भइनै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेनजी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताए ।
ADVERTISEMENT

