नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताएका छन् । सुरक्षाखबर डटकम अनलाइनको प्रथम बार्षिक उत्सब समारोहको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार सङ्घीय सरकार, निर्वाचन आयोग लगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिवद्धता ब्यक्त गरे । मन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गर्दै मर्यादित पत्रकारिताको लागि आफूले अपेक्षा गरेको बताए । उनले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए । उनले प्रदेश सरकारले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी समेत गरे ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु रुद्र सुवेदी, निरज गौतमले सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्यमा जोड दिएका थिए । सो अवसरमा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका बिभिन्न दर्जाको ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी नायब निरीक्षक प्रविण डिसी, लागुऔषध नियन्त्रण ब्यूरो प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही, सशस्त्र प्रहरी शम्शेरगञ्जस्थित सशस्त्र प्रहरीका गोताखोरहरु मोहन बिष्ट, रोशन केसी, प्रमेश्वर थारु, ट्राफिक प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल, प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी, सहायक हवल्दार पूर्ण बिसी र प्याब्सन बाँके अध्यक्ष बिकास बज्राचार्य रहेका छन् । सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन विनोद गौतमले गरेका थिए । वार्षिकोत्सबमा सम्मानित भएका सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बाँकेको राप्तीसोनारीस्थित जय बागेश्वरी बाल संरक्षण केन्द्रलाई रु. १० हजार सहयोग गरेका थिए ।
ADVERTISEMENT

