सर्लाही । सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ राजेन्द्र महतो र महेन्द्रराय यादव फेरि आमनेसामने भएका छन् । यी दुईबीचको प्रतिस्पर्धा पुरानै भए पनि यसपटक नेपाली कांग्रेसबाट डा. सरोज कुमार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रविन महतो र जनमत पार्टीबाट ई. विपिन कापडलगायत नयाँ अनुहारको उपस्थितिले चुनावी माहोल थप रोचक बनेको हो ।
२०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस-माओवादीसहितको सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका महेन्द्रराय यादव विजयी भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का उम्मेदवार राजेन्द्र महतो उपविजेतामा सीमित भए ।।
यादव र महतोबीचको चुनावी प्रतिस्पर्धा नयाँ भने होइन । २०७० सालको निर्वाचनमा पनि यी दुवैबीच कडा प्रतिस्पर्धा देखिएको थियो त्यतिबेला यादव तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार बनेर विजयी भएका थिए भने सद्भावना पार्टीकै तर्फबाट उम्मेदवारी दिएका महतो पराजित भएका थिए ।त्यतिबेला सर्लाहीका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा उनीहरू प्रतिस्पर्धामा थिए । त्यसैगरी, २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही–२ बाट विजयी हुँदा महतो भने धनुषा क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका थिए ।तेस्रो मधेश आन्दोलनको रापतापका बीच जनकपुर पुगेका महतोले त्यतिबेला नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।
ADVERTISEMENT

