नेपालगञ्ज । विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिइएको छ । विज्ञापन बोर्डले आज नेपालगञ्जमा आयोजना गरेको विज्ञापन नियमनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा भ्रामक र अनियन्त्रित विज्ञापनले उपभोक्ता र मिडियामा नकारात्मक असर पारिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सरोकारवाला गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको समन्वयमा गरिएको कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले उपभोक्ता हितलाई केन्द्रमा राखेर विज्ञापन नियमन गर्नुपर्ने भन्दै भ्रामक विज्ञापनप्रति कडा निगरानी आवश्यक रहेको बताए । उनले भ्रामक तथा अनियन्त्रित विज्ञापनले उपभोक्ता र सञ्चार माध्यम दुवैलाई असर गर्ने भएकोले नियमित अनुगमन जरुरी रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले विज्ञापनले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै कानुन अनुसार मात्रै विज्ञापन प्रकाशन र प्रशारण हुनुपर्ने बताए । उनले भ्रामक, अतिरञ्जित वा उपभोक्तालाई धोका दिने खालका विज्ञापन नियन्त्रणका लागि प्रशासन, विज्ञापन बोर्ड, सञ्चार माध्यम र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले उपभोक्तामैत्री विज्ञापन प्रवर्द्धन र उपभोक्तालाई सही सूचना दिनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए । उनले विज्ञापनबाट हुने ठगी, गलत प्रचार र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रमा हुने भ्रामक प्रचारप्रति कडा निगरानी आवश्यक रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले विज्ञापन र समाचारबीचको स्पष्ट विभाजन, आचारसंहिता पालन र तथ्यमा आधारित सामग्री प्रकाशन प्रशारणमा पत्रकारहरू सचेत हुनुपर्ने बताए । उनले सञ्चारमाध्यमले व्यवसायिक दबाब भन्दा माथि उठेर सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यसक्रममा हुमागाई र बानियाले प्रस्तुतिकरण समेत गरेका थिए ।
कार्यक्रममा विज्ञापन, कानुनी व्यवस्था, कार्यान्वयनमा देखिएका चुनौती तथा सुधारका उपायबारे सहभागीहरूबीच खुला छलफल समेत गरिएको थियो । अन्तरक्रियाले विज्ञापन क्षेत्रलाई जिम्मेवार, पारदर्शी र उपभोक्तामैत्री बनाउने दिशामा सहकार्य बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बाँकेमा क्रियाशील पत्रकार, विज्ञापन एजेन्सी, उपभोक्ता अधिकारकर्मी लगायत सरोकारवालाको सहभागिता थियो ।
ADVERTISEMENT

