दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा मातृत्व कक्ष निर्माण गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । मातृत्व कक्ष निर्माणपछि क्षेत्रीयस्तरमा प्रसुती तथा नवजात शिशु सेवा थप प्रभावकारी हुने विश्वास लिइएको श्रेष्ठले बताए ।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ सालमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलवा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरू नियमित आउने गरेका छन् । उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार डा. श्रेष्ठले बताए ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले कल्चर सेवा, ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । –रासस

