बाँके : बैजनाथ गाउँपालिकाले थारु समुदायको सँस्कृति संरक्षणमा जोड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बार्षिक बजेटमार्फत थारु समुदायका बड्घर र चौकीदारलाई साईकल वितरण गरेको हो । गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार औपचारिक रुपमा साईकल हस्तान्तरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ देखी ८ सम्म गठित ३६ वटा टोलमा थारु समुदायका बड्घर र चौकीदारलाई ३६ वटा साईकल वितरण गरिएको अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बड्घर र चौकीदारलाई हिडडुल गर्न सहजताका लागि साईकल वितरण गरिएको हो ।
थारु समुदायमा बड्घर र चौकीदारले गाउँ–समाजका विवाद मिलाउने प्रचलन रहेको छ । थारु समुदाय मिलेर हरेक वर्षको माघीमा बड्घर र चौकीदार छनोट गर्ने प्रचलन छ । गाउँपालिकाले साईकल वितरण गरेपछि आफुहरुलाई धेरै राहत मिलेको बैजनाथका बड्घरहरुले बताएका छन् । साईकल हस्तान्तरणका क्रममा गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, अन्य जनप्रतिनिधि, गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, अन्य कर्मचारी, थारु समुदायका अगुवा, बड्घर तथा चौकीदार लगायतको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT

