काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद डीपी अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।भेटमा सभामुख अर्यालले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी क्षेत्रमा दक्षिण कोरियाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले नयाँ जनादेशसहित सरकार गठन भएपछि विदेशी लगानी र विकास साझेदारीका लागि नेपालमा थप अनुकूल वातावरण बनेको बताएका छन् । उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडान सञ्चालनका लागि सहजीकरण गर्न पनि कोरिया सरकारसँग आग्रह गरेका छन्। नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म विस्तार भएको उनको भनाइ थियो ।
राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको र विशेष गरी ऊर्जा क्षेत्रमा उल्लेखनीय लगानी भइरहेको बताएका छन्। रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको तथा आगामी वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन्।हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको राजदूत पार्कको भनाइ छ।
ADVERTISEMENT

