काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि संसद्मा नियमापत्ति भएको छ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिका प्रश्नको जवाफ अर्थमन्त्रीले दिन लागेपछि नियमापत्ति भएको हो ।
रक्षा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेनले नै सम्हालिरहेका छन् । यस मन्त्रालयको बजेटउपरका प्रश्नको जवाफ पनि डा. वाग्लेले नै दिने गरी अख्तियारी पाएका छन् ।यस्तो अभ्यास नरहेको भनेर एमाले सांसद बरालले नियमापत्ति गरे । तर त्यसलाई सभामुख डोलप्रसाद अर्यालले मान्यता दिएनन् ।सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र रक्षा मन्त्रालयसहितको पत्र प्राप्त भएको हुनाले पत्र प्राप्त भइसकेपछाडि मन्त्रीलाई जवाफ दिनलाई जिम्मेवारी दिएर पठाइसकेपछाडि अर्थमन्त्रीले जवाफ दिने हाम्रो प्रचलनमै भएको विषयवस्तु भएको हुनाले माननीय सदस्यको ध्यानाकर्षण भएको छ ।यत्ति भनेर सभामुखले अर्थमन्त्री वाग्लेलाई जवाफमा अगाडि बढ्न आग्रह गरे । त्यसअनुसार अर्थमन्त्री वाग्लेले जवाफ दिएका छन ।

