काठमाडौँ। पार्टी निर्माण नहुँदै 'नागरिक बचाउ महाअभियान' का प्रमुख दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणाबिच खटपट देखिएको छ । प्रसाईंको हस्ताक्षर र सहमति विना नै डा. राणाले साउन २९ गते 'जय नेपाल पार्टी' दर्ता गर्ने भन्दै सार्वजनिक आह्वान गरेका छन् ।डा. राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम साउन २९ गते शुक्रबार दिनको १२:१५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गरिने जनाएका छन् । उनले पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सो समयमा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
यसअघि दुर्गा प्रसाईंले डा. राणामाथि गम्भीर आरोप लगाएका थिए । उनले राणाले राजसंस्था नचाहेको र राणाहरू देशमा भएसम्म राजा नआउने दाबी गर्दै 'धवलजीको कुरा सुन्दा पार्टीभित्र सीआइए पसेको जस्तो लागेको छ' भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । दरबार हत्याकाण्डबारे राणाले राखेको धारणामा आपत्ति जनाउँदै प्रसाईंले यस्तो बताएका थिए । प्रस्तावित पार्टीको कार्यदलका सदस्यसचिव सगुन सुन्दर लावतीले प्रसाईं सहभागी भए पनि नभए पनि दल दर्ताको प्रक्रिया नरोकिने बताए।लावतीले प्रसाईंका अभिव्यक्तिहरू व्यक्तिगत भएको र कार्यदलले विधिवत रूपमा दल दर्ता गर्ने निर्णय गरिसकेको प्रस्ट पारे। उनले मुकुन्द श्याम गिरीको नेतृत्वमा रहेको कार्यदलले नै यो निर्णय लिएको बताए। जसमा प्रसाईं पक्षको समेत सहभागिता रहेको थियो। प्रसाईंको अभिव्यक्तिपछि जय नेपाल पार्टीभित्र तरङ्ग उत्पन्न भइरहेका बेला प्रसाईं पक्षकै माधव कन्पितले भने साउन २६ गते नै एक विज्ञप्ति जारी गर्दै प्रसाईं र राणाबिच कुनै तिक्तता नरहेको दाबी गरेका छन्।
ADVERTISEMENT

