काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् ।
उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए । बाँकी उम्मेदवारहरू परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए । महासचिवमा सञ्जयकुमार यादव विजयीमहासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । सिरहाका यादव ६१८ मत सहित महासचिव पदमा विजयी भएका हुन् ।
महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए । झाले २२० र सिंहले १६५ मत पाए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।उपमहासचिव पदमा सिरहका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए ।सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । ७ सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह पराजित भए ।

