उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्यो हस्तान्तरण
zeenepal
२०७९ असार २७,
6
Shares
गोरखा असार। बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो ।
सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । अब यो सडक स्तरोन्नति लगायतका कामको जिम्मेवारी सडक विभागको हुनेछ ।गोरखा जिल्लाको उत्तरी क्षेत्रको धार्चे गाउँपालिकाको हावा डाँडादेखि चुमनुब्री गाउँपालिकामा पर्ने चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा सरकारले २६ मंसिर २०७३ मा नेपाली सेनालाई दिएको छ । सेनाले २०७४ वैशाख महिनादेखि काम सुरु गरेको थियो ।
हालसम्म ३२ किलोमिटर ट्रयाक खुलिसकेको निर्माण कार्यदल प्रमुख मेजर भट्टले जानकारी दिए । ‘फिलिमको पाङसिङसम्म ट्रयाक खुलाइसकेका छौ, तर ठाउँ ठाउँमा मिलाउन बाँकी छ,’ उनले भने, ‘सडक विभागलाई हस्तान्तरण गरेको खण्डमा भने सबै काम सकिसक्यौं ।’२०५२ सालमा भारत र चीन जोड्ने गरी पृथ्वी राजमार्गको नजिकैको बेनिघाटदेखि आरुघाट हुँदै आर्खेतसम्मको सडक निर्माण सुरुवात भएको थियो । त्यसपछि आर्थिक बर्ष २०६३÷६४ मा यो सडक चीनसँगको सिमाना लार्केभञ्ज्याङ जोड्ने योजना बनेको थियो र निर्माणको जिम्मा सडक विभागलाई दिइयो ।
आर्थिक वर्ष २०६६/६७ देखि निर्माण सुरु गरेको सडक विभागले हावा डाँडादेखि करिव १ किलोमिटर ट्रयाक खने पनि कडा चटानयुक्त भीर परेकाले पाँच बर्षसम्म काम अगाडि बढ्न सकेन ।
त्यसपछि २०७३ साल मंसिर २६ गते मन्त्रिपरिषद बैठकले सो क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक लापुवेशी, माछाखोला, जगत, सिर्दिवास बिही, प्रोक, सामागाउँ, साम्दो हुदै चीन र नेपालको सिमाना लार्के भञ्याङ पुग्नेछ ।