काठमाडौं साउन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् ।
मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् ।मेयर साहले रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, माली गाउँ, कालो पुल, नयाँ बसपार्क लगायत क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि अलपत्र अवस्थामा छोडिएको सडक बनाउने कामबारे प्राधिकरणका अधिकारीहरुसँग प्रश्न गरेका हुन् । बिजुलीको तार भूमिगत गरिएपछि पैदल मार्गमा समेत क्षति पुगेको भन्दै उनले महानगरले गर्नुपर्ने काम भने तदारुकताका साथ गरिने बताए ।
बैठकमा मेयर साहले खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिलेसम्म कालोपत्रे हुन्छ भन्नेबारे केयूकेएलका अधिकारीहरुसँग पनि प्रश्न गरेका छन् । खानेपानीको पाइप बिच्छ्याउनका लागि सहमति भएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ भन्ने बारे पनि उनले जानकारी लिएका थिए ।सेवा प्रदायक (सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु) तथा लाभग्राही (सेवा लिने व्यक्तिहरु) को व्यवहारमा परिवर्तन ल्याउन सके ठूलो परिवर्तन आउन सक्ने उनको भनाइ थियो । फ्लाइ ओभर ब्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक रहेको भन्दै उनले आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको खाँचो रहेको उनले बताए ।
मेयर साहले भने, ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौं । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।’
उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा अन्यौल होइन समन्वय होस् भन्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिइन् । महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको भन्दै उनले कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ भन्नेबारे स्पष्ट हुँदै गएको बताइन् ।
ADVERTISEMENT