संविधानको पालनामा चुनौती देखिएका छन् : उपराष्ट्रपति
zeenepal
२०७९ आश्विन ३,
6
Shares
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान पालनामा केही चुनौती देखिएको बताएका छन् । तर पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ ।संविधान दिवसको अवसरमा शुभकामना दिंदै उनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको समेत उल्लेख गरेका छन् ।
संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताए ।
उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् ।उनले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढीकरण र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।