
उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् । उनले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि नरोकिएको बताए । उनले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए । उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए ।
उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले भने– ‘निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ । ती सरकारहरुले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रहरूमा, सुशासनका क्षेत्रहरूमा राम्रो काम गर्ने छन् भन्ने कुरा पनि म विश्वास लिएको छु । अर्थात् सुशासनका क्षेत्रमा पक्कै पनि आजका दिनभन्दा आगामी दिनहरु अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगति हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ ।’ उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए ।