काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् । मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नेपालमा अन्य उद्योगहरू भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे । उनले मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवर्द्धन र विकसित गर्न आवश्यक रहेको बताए । उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवाद उन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे । उनले सबै नेपालीहरूको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताए ।
उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको बताए । उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।
प्रधानमन्त्री दाहालले तत्कालका लागि मुलुकमा वित्तीय संकट देखिएको बताए । उनले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोसिस गरिरहेको बताए । उनले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु,घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सरकारका केही नीतिगत,सोच,व्यवहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए । उनले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताए ।
ADVERTISEMENT