
अर्थमन्त्रीसँग हामीले त्यही कुरा राखेका छौँ । अहिलेसम्म हामीले सधैँ राज्यलाई सहयोग गर्दै आयौँ । अब हामी धेरै धैर्य गर्न सक्ने अवस्थामा छैनौँ । जसरी पनि हुन्छ हाम्रो सेवा सुरक्षा ग्यारेन्टी हुनुपर्छ भनेर आएका छौँ’ महासचिव योगीले भने । ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले अहिले देशको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले यो विषयमा सोच्नुपर्ने बताएका थिए । ‘तपाईँहरूलाई थाहा छँदैछ । अर्थतन्त्र निकै कमजोर अवस्थामा छ । अहिले राज्यले थप दायित्व बहन गर्न सक्ने अवस्था छैन’ अर्थमन्त्री महतले भने ।
विगतदेखि नै विभिन्न बहाना बनाएर विद्यालय कर्मचारीलाई न्यून तलबमा काम गराउँदै आएको भन्दै यो बजेट भाषणमा माग सम्बोधन नभएको आन्दोलनको चेतावनी दिएको उनको भनाई छ । परिषद्ले गत वर्षको भदौमा सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग राखेर आन्दोलन गरेका थिए ।
त्यसपछि शिक्षा मन्त्रालयले उनीहरूका माग सम्बोधन गर्ने सहमति जनाएको थियो । उनीहरूको माग सम्बोधन गर्नका लागि आवश्यक पर्ने बजेटका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो । तर, अर्थबाट अहिलेसम्म कुनै सम्बोधन हुन सकेको छैन ।