नारायणीमा भर्ना भएका विरामीले पाउँदैनन् निशुल्क खाना
zeenepal
२०८० जेष्ठ ७,
6
Shares
वीरगन्ज । नारायणी अस्पतालमा भर्ना भएका बिरामीका लागि पञ्चायतकालदेखि नै निशुल्क खानाको व्यवस्था हुने गरेको छ ।नारायणी अस्पताल मेडिकल रेकर्डका प्रमुख अशोक श्रीवास्तवका अनुसार शिशु वार्ड, मेडिकल वार्ड र सर्जिकल वार्डका बिरामीहरुलाई निशुल्क खानाको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।जसमा १५० ग्राम भात ५५ ग्राम दाल र ४५ ग्राम मौसमी तरकारीका साथै बिहान १ ग्लास दूध छ । अप्रेशन गरिएका विरामीलाई जाउलोको समेत सुविधा छ । तर पछिल्लो समयमा बिरामीहरुले निशुल्क खाना नपाएको गुनासो गरेका छन् ।
जलनको उपचारका लागि भएकी लक्ष्मी देवी राम आफूले खाना नपाएको बताउँछिन् । ‘मलाइ यहाँ खाना दिइएको छैन, डाक्टरले अण्डा खानु भनेका छन्,’ विपन्न परिवारकी उनले भनिन्, ‘एक छाक भात त पाएको छैन, अण्डा कसले दिने उनी आफू गरिब भएको र औषधि उपचारका लागि पैसा समेत नभएको बताउँछिन् ।मेडिकल वार्डमा भर्ना भएका बिरामी अनुपले खाना त पाएका छन् तर उनले दूध पाएका छैनन् ।
बिहान ८ बजे नै खाना तयार हुन्छ त्यसैले उनलाई पनि समस्या छ । ‘८ बजे भित्र खाना लिन जानुपर्छ, बिहानै रूच्दैन, १० बजेतिर भोक लागेपछि खाँदा त्यो खाना चिसो भइसक्छ,’ उनी गुनासो गर्छन् ।बिरामीले खाना नपाए बारेमा बुझ्नका लागि निशुल्क खाना कार्यक्रमका इन्चार्ज सहायक मेट्रोन श्रुती साहलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
रासन व्यवस्थापनका पूर्व इञ्चार्जसमेत रहेका श्रीवास्तव पहिला पहिला रोग अनुरार डाइट चार्ट प्लान गरेर बिरामीलाई खाना दिने गरे पनि अहिले त्यस्तो नभएको बताए ।हामीले सञ्चालन गर्दा बिरामीको रोग अनुसार डाइट चार्ट प्लान गरेर खान दिन्थ्यौँ, जस्तै मधुमेहका विरामीका लागि रोटी दिइन्थ्यो भने सर्जरी भएकाहरुलाई जाउलो र फलफूलसमेत दिन लाउँथ्यौं’, उनले भने ‘अण्डा बिरामी अनुसार थियो भने दूध अनिवार्य दिन लगाउँथ्यौँ ।’आर्थिक वर्ष २०७८/०७९ मा निशुल्क रासनका लागि भनेर ३८ लाख २० हजार आएको थियो । जसमध्ये ३१ लाख ६३ हजार ८३७ रुपैयाँ खर्च भएको थियो । ६ लाख ५६ हजार १ सय ६३ रुपैयाँ फ्रिज भयो ।
तर पनि चालु आर्थिक वर्षका लागि बजेट बढेर अएको छ । ०७९/८० मा ४० लाख बजेट प्राप्त भएको छ भने चैतसम्ममा ३२ लाख १८ सय खर्च भइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ खानाका लागि बजेट पनि छ र बजेट खर्च पनि भएको छ । तर विरामीले खाना पाएका छैनन् । पाएकाले पनि सफा र स्वस्थ खाना पाएका छैनन् । निशुल्क खाना वितरणको अनुगमन अस्पताल प्रशासनबाटै हुनु पर्नेमा अनुगमनसमेत नहुने गरेको अस्पतालकै एक कर्मचारीले नाम उल्लेख नगरी बताए ।भर्ना भएका कतिले आफैं खान ल्याउँछन्, निशुल्क खाना लिन भान्छासम्म जान नसक्नेले खानै पाउँदैनन्,’ ती कर्मचारी भन्छन् ‘तर पनि सबै बिरामीले खाना पाए भनेर रिपोर्ट तयार पारिन्छ र बजेट सकिन्छ ।’
तर नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह भने बिरामीलाई भात, दाल, मौसमी तरकारी, दूध र अण्डा दिने गरिएको दाबी गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना वितरण गर्न छुट्टै कर्मचारीको व्यवस्था नभएकाले कुरुवा नभएका बिरामीले निशुल्क खाना नपाएको हुन सक्ने उनले स्वीकार गरे ।खाना तैयार भइसक्यो भनेर वार्डमा कर्मचारीले जानकारी गराउँछन्,’ डा.सिंहले भने, ‘त्यसपछि जो जो भान्छामा पुग्छन् उसले खाना पाउँछन् ।’ दाल, भात, तरकारी, दूध र अण्डा बाहेक अरु थप खाना पनि दिनुपर्ने सम्बन्धमा आफूलाई जानकारी नभएको उनले बताए ।