काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नक्कली भुटानी शरणार्थी प्रकरणका १८ जना आरोपितविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेकै दिनदेखि अनुसन्धान थालेको विभागले आरोपितहरुसँग बयान लिने तयारी गरेको हो विभागका महानिर्देशक तारानाथ अधिकारीहरुले बयानको अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको पुष्टि गरे । उनले भने, ‘जुन अदालतबाट आरोपितहरु पुर्पक्षका लागि थुनामा गएका हुन्, त्यही अदालतमा अनुमति लिनुपर्ने रहेछ । हामीले सोमबार निवेदन दिएका छौं ।’ विभागको निवेदन मंगलबारका लागि पेशीमा चढेको छ । मंगलबार नै अनुमति पाएमा विभागले काम अघि बढाउनेछ ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३० जनामध्ये पक्राउ परेका १८ जनाको जिल्ला अदालत काठमाडौंमा थुनछेक आदेश भइसकेको छ । जिल्ला अदालतले १६ जनालाई थुनामा राख्ने आदेश दिएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान अघि बढाएको हो ।विभागले पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित नक्कली भुटानी शरणार्गी प्रकरणमा पक्राउ परेका १८ जनासँगै नै बयान लिने अनुमति मागेको छ ।
जिल्ला अदालतले धरौटीमा छाडेका लक्ष्मी महर्जनसँग विभागले ५० हजार रुपैयाँ धरौटी मागेर तारेखमा छाडेको छ भने टंकबहादुर गुरुङसँग डेढ लाख धरौटी मागेको छ ।अरुको हकमा कि उनीहरुलाई विभागमै बोलाएर बयान लिइन्छ, कि कारागारमा गएर बयान लिने काम हुन्छ’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘अनुसन्धानका लागि एक उच्च प्रहरी अधिकारीलाई अनुसन्धान अधिकृत तोकेर जिम्मेवारी समेत दिइसकिएको छ ।’केही व्यक्तिहरुको बैंक खाता मागेर हेर्न सुरु भइसकेको र केहीको सम्पत्तिको विवरण संकलनका लागि भूमि व्यवस्था विभाग, धितोपत्र बोर्ड लगायतमा पत्राचार भइसकेको स्रोतले बतायो