विपद् न्यूनीकरण गर्न गम्भीर रुपमा लागेका छौं : विष्ट
zeenepal
२०८० असार ८,
9
Shares
नेपालगञ्ज :नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीर र जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन् ।विष्टले सम्भावित विपतको पहिचान गरी पूर्व तयारी गर्नेदेखि शिघ्र प्रतिकार्यका लागि नेपालगञ्ज उपमहानगरपालिका योजनाबद्ध ढंगले अघि बढेको बताए । उनले नीति, योजना, कानुन निर्माणदेखि कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउन द्रुत गतिमा काम गरिरहेको बताए ।
युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा मनसुन पूर्व तयारी सम्बन्धि कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले विपतका सवालहरुलाई आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा पनि प्राथमिकता दिइएको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दक्षिण कोरिया भ्रमणको अनुभव प्रस्तुतिकरण गरेका थिए ।उनले कोरियामा सहर उत्थानशील कार्यक्रमको सिकाई अनुभव बताएका थिए । केही समय अगाडि उपमहानगरपालिकाबाट नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रिजाल लगायतको टोली कोरिया भ्रमणमा गएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यमा स्थानीय तह र वडास्तरको भूमिका र जिम्मेवारी र परामर्शदाता लोकेन्द्र भट्टले नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको स्थानीय विपत तथा जलबायु उत्थानशील योजनाको प्रस्तुतिकरण गरेका थिए ।
वातावरण शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले गरेका प्रयासहरुबारे जानकारी गराएका थिए । विषयगत क्षेत्र तथा वडास्तरको योजना तर्जुमामा समावेश गर्न सकिने योजनाहरुको ढाँचाका विषयमा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेका थिए ।कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, युनिसेफ प्रतिनिधि लगायत उपस्थित थिए ।