काठमाडौँ — जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार अनुमति दिएको छ । राउत आइतबार काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
यो प्रकरणमा पक्राउ परेका अन्य आरोपितलाई पनि म्याद थप्न मंगलबार अदालत लैजानुपर्ने भएकाले राउतलाई पनि सोमबार सम्मका लागि मात्र म्याद थपिएको हो । राउतसहित सबैलाई मंगलबार पुन: म्याद थपका लागि अदालत उपस्थित गराइनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुलुकी ऐनको किर्ते र संगठित अपराध निवारण ऐन २०७० का दफा लगाएर अनुसन्धान गरिरहेको छ ।
ललिता निवासमा सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा कामय हुनेगरी २०६६/०६७ ताका भौतिक योजना मन्त्रालयको शाखा अधिकृतको हैसियतमा उनले उठाएको टिप्पणी आदेशको आधारमा उनी पक्राउ परेका हुन् । उनको टिप्पणीबाट सुरु भएको किर्तेको फाइल सहसचिचव, सचिव, मन्त्री हुँदै सदर भएर मन्त्रिपरिषद्मा पठाइएकोमा सोही बमोजिम मन्त्रिपरिषद् बैठकबाट पनि स्वीकृत भएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा समरजंगका कम्पनीका नाममा कायम जग्गा मध्ये २५ रोपनी भन्दा बढीमा नक्कली मोही खडा गरी आधार हिस्सा भूमाफिया र बिचौलियाले हडपेका थिए । यही प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अरु ११ जना पनि पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ४ सय भन्दा बढीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइसकेको छ ।