बाँके (खजुरा) : खजुरा गाउँपालिकास्थित सोनपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको छ । बज्रदल गण तथा खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा शिविर तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त शिविरको बज्रदल गणका गणपति एवम् प्रमुख सेनानी श्याम आत्रेय पौडेल र खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले संयुक्त रुपमा उद्घाटन गरेका थिए । शिविरमा बालरोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, प्रयोगशाला जाँच सेवा, फिजिसियन सेवा र दन्तरोग विशेषज्ञ सेवा दिइएको थियो ।
शिविर सञ्चालनका लागि सैनिक अस्पताल नेपालगन्ज, एचसिआरसी अस्पताल, शाही डेन्टल क्लिनिक, नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पतालले पनि सहकार्य गरेका थिए । उक्त शिविरबाट कुल ६ सय जनाले स्वास्थ्य सेवा पाएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिइन् । उनका अनुसार शिविरमा ४ सय २७ जना महिला र १ सय ७३ जना पुरुषले सेवा लिएका छन् ।