काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले पोखरालाई ट्रान्जिट प्वाइन्टका रुपमा विकसित गरी मुस्ताङ, लमजुङ, चितवन र लुम्बिनीलाई जोड्नु पर्ने बताए ।
अन्तर्राष्ट्रिय हवाई अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिँदै मन्त्री महतले भने, ‘पर्यटन प्रवर्द्धनका लागि देशले लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।’पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने भन्दै उनले भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौती सरकारसँग रहेको उनको भनाइ छ ।
युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट गुज्रिएकाले राजस्वमा ठूलो प्रभाव परेको उनको भनाइ छ ।अर्थतन्त्रमा शिथिलता देखिएको स्वीकार गर्दै उनले भूकम्प र कोभिडबाट सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखिएको उल्लेख गरे । उनले सबैजना आ–आफ्नो ठाउँबाट गुज्रिन जरुरी रहेको समेत बताए ।
समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री महतको भनाइ छ । सबैले सकारात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकारात्मक बाटोतर्फ उन्मुख हुने भन्दै उनले पोखरा पर्यटन व्यवसायको हब भएको समेत बताए ।पूँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिने भन्दै उनले ठेक्का समयमा लगाइने, ठूल्ठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउने समेत बताए । अन्तर्राष्ट्रिय पर्यटक वृद्धिका लागि हवाई यातायात महत्वपूर्ण भएको भन्दै उनले काठमाडौंको एयरपोर्ट साँघुरो भएको बताए ।