काठमाडौँ । श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ । श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले पुरस्कार प्रदान गरे ।पुरस्कृत हुनेमा कृष्णसिंह धामी (काठमाडौँ), रुपा गहतराज (बाँके) र लक्ष्मण खनाल (संयुक्त अरब इमिरेट्स) रहेका छन् । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । उपत्यका, मोफसल र प्रवासमा रहेका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको समूहका अध्यक्ष सुनील न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा श्रममन्त्री भण्डारीले आप्रवासन विश्वव्यापी परिघटना भएको उल्लेख गर्दै नेपाल सरकार राष्ट्रिय आप्रवासन नीति मस्यौदा गर्ने प्रक्रियामा रहेको बताए । “आन्तरिक होस् वा बाह्य आप्रवासनलाई व्यवस्थापन गर्नुपर्छ, वैदेशिक रोजगारी रोकेर रोकिँदैन, यसलाई व्यवस्थित गर्नुपर्छ”, उनले भने, “वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको छ ।”
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकार एक्लैको प्रयासले सम्भव नभएको जनाउँदै उनले सरोकारवाला सबैको सकारात्मक सहयोगका अपेक्षा गरिएको बताए । “वैदेशिक रोजगारीलाई सरकार एक्लैले व्यवस्थित पार्न सक्दैन, सबै मिलेर सामूहिक प्रयत्न गर्नुपर्छ”, उनले भने ।श्रम आप्रवासनका क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न प्रधानमन्त्रीको नेतृत्वमा गन्तव्य मुलुकका राजदूतसँग बृहद् छलफल गरिएको उल्लेख गर्दै उनले सो छलफलको निर्णय कार्यान्वयनको चरणमा रहेको बताए ।

