काठमाडौँ । सरकारी मिडियाको रूपमा रहेको रेडियो नेपालमा ३५ बुँदे माग राख्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र प्रेस सेन्टर नेपाल, रेडियो नेपाल शाखाले आन्दोलन सुरु गर्ने भएका छन् । रेडियो नेपालको संस्थागत सुधारका विषयमा व्यवस्थापनविरुद्ध नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपाल र प्रेस सेन्टर नेपाल रेडियो नेपाल आन्दोलित भएको हो । दुई सङ्गठनले तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम निर्माण सम्पन्न भई नसक्दै भवन चुहिन थालेको, अनियमित ढङ्गले एसी जडान गरिएको, कमिसनका लोभमा कम्प्युटर, फर्निचर लगायतका सामग्री खरिद गरी थन्क्याइएको र यसका नाममा काज र बैठक भत्ता लिएर साधन स्रोतको दुरुपयोग भइरहेकाले यसको सत्य तथ्य बाहिर ल्याउन तत्काल छानबिन कमिटी बनाउन माग गरेका छन् ।
प्रभावकारिता अध्ययन र आर्थिक लागत अनुमान विना कमिसनका लागि अनावश्यक सेवा र सामग्री खरिद गर्ने (सेटे लाइट चल्दैन भन्ने हुँदाहुँदै) सामग्री ल्याएर थन्क्याएको, खर्च नियन्त्रण गर्न र तीन तीन महिनामा खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ । मिडियम वेब र सर्ट वेब प्रसारण बन्द भइसके पनि रेडियो स्टेसनमा अझैसम्म विद्युत्, खानेपानी, सुरक्षा र जनशक्तिका शीर्षकमा खर्च भइरहनु व्यवस्थापनको गम्भीर लापरबाही भएकोले सो प्रसारण चालु वा बन्द गर्ने र व्यवस्थापकीय कमजोरी समेतको निर्क्यौल गर्न तत्काल अध्ययन समिति बनाउन माग गरिएको छ ।
इन्धन र सवारी सुविधा न्यायोचित र समन्यायिक ढङ्गले वितरण गर्न र इन्धन र सवारी सुविधा पाउन नसकेका कर्मचारीलाई सो बापत न्यूनतम रूपमा यातायात खर्च उपलब्ध गराउन पनि माग गरिएको छ । यस्तै एफएम रिले स्टेसनमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूलाई समेत एफएम भत्ता उपलब्ध गराउन, आवास सुविधामा एकरूपता र आवश्यकताअनुसार अन्य कार्यालयहरूमा पनि समान ढङ्गले कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउन माग गरिएको छ ।

