कांग्रेस, एमाले र माओवादीको कार्यालय बनाउन सरकारी बजेट
zeenepal
२०८० मंसिर १५,
3
Shares
विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ ।प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै नेकपा एमाले, र माओवादी केन्द्रको कार्यालय भवन बनाउन चार करोड ७५ बजेट विनियोजन गरेका हुन् ।
कांग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका– २ मा निर्माणधीन छ । पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ । गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको यो कार्यालयका लागि यो वर्ष दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।सुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा एक करोड ५० लाख र शुशील विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुट्याइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको कांग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।
एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा पर्छ । मदन स्मृति नाम दिइएको दुई तले भवनको पहिलो तल्लामा जिल्ला कमिटी र दोस्रो तल्लामा प्रदेश कमिटीको कार्यालय छ ।एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी छ । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।सत्तारुढ माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको यो भवन बनाउन गत वर्ष ४० लाख बजेट विनियोजन भएपनि खर्च भएन ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । डोलराज कोइराला स्मृति सामुदायिक भवनका लागि १ करोड ५० लाख र डोलराज कोइराला स्मृति सभाहलका लागि २५ लाख रुपैयाँ छुट्याएको हो ।कांग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले गरिरहेको छ । यही कार्यालयले एमालेको भवनमा तला थप्नेछ । कार्यालयका निमित्त प्रमुख रुद्रनारायण मिश्रका अनुसार कटहरी –२ मा गत वर्ष एक तले भवनको स्टमेट अनुसार निर्माण सुरु भएको थियो ।
एउटा शौचालयका लागि पाँच करोड
प्रदेश सरकारले इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा एउटै शौचालय बनाउन पाँच करोड बजेट छुट्याएको छ ।इलाम क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सांसद शम्शेर राई बिनाविभागीय मन्त्री छन् । सरकारको प्रवक्ता समेत रहेका उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा चेन्जिङ रुम सहितको शौचालय बनाउन पाँच करोड रुपैयाँ रातो किताबमा पारेका हुन् ।यसबारे प्रदेशसभामा प्रश्न उठेको थियो भने खर्च कटौतीका लागि प्रस्ताव पनि परेको थियो । प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले कानुनको सुविधा प्रयोग गरेर नमिलेको ठाउँमा मिलाउने बचन दिएपछि खर्च कटौतीको प्रस्ताव राख्ने संसदले त्यसलाई फिर्ता लिएका थिए ।