काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालले भ्रष्टाचारविरुद्धको संघर्षमा संरचनात्मक चुनौतीहरुको सामना गरिरहेको बताएका छन् ।भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक) पक्ष राष्ट्रहरुको सम्मेलनमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा नेपालले भ्रष्टाचार नियन्त्रणमा केही काम गरिरहे पनि चुनौतीहरुको सामना गर्नुपरेको बताएका हुन् सम्मेलनमा उनले भने, ‘भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण हुनेछ ।’
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक)को प्रभावकारी कार्यान्वयनका लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोग बलियो बनाउनुपर्ने भन्दै उनले सार्वजनिक र निजी क्षेत्रको पारदर्शिता र जवाफदेहिता बढाउनुपर्ने बताएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचारजस्तो गम्भिर अपराधले सरकारप्रतिको विश्वसनियता घटाउने भन्दै उनले महासन्धीको पक्षधर राष्ट्रहरुको सामूहिक संकल्प भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण हुने बताए । उनले महासन्धीका प्रावधान कार्यान्वयनका लागि नेपालले कानुन निर्माणको प्रक्रिया अघि बढाएको र संस्थागत प्रयासहरु थालेको बताए ।उनले अन्क्याक पक्ष राष्ट्रहरुसँग समेत सहकार्यको अपेक्षा गरेको बताए । अमेरिकाको एटलान्टामा अन्क्याक महासन्धीमा हस्ताक्षर गर्ने मुलुकहरुका १० औं सम्मेलन चलिरहेको छ । सोही सम्मेलनमा भाग लिन उनी अमेरिका पुगेका थिए ।
ADVERTISEMENT

